राजस्थान रोयल्सलाई पराजित गर्दै पञ्जाव किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
आइतबार भएको पहिलो खेलमा पञ्जावले राजस्थानमाथि १० रनको रोमाञ्चक जित निकालेको हो ।
पञ्जावले दिएको २२० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो ।
राजस्थानका लागि ध्रुव जुरेलले सार्वधिक ५३ रन बनाए ।उनले ३१ बलमा ४ छक्का र ३ चौकाको प्रहार गरे । यसैगरी यशस्वी जैसवालले ५०, वैभव सूर्यवंशीले ४०, कप्तान सन्जु सामसनले २० र सिम्रन हेटमायरले ११ रन जोडे ।
पञ्जावका लागि हरप्रित ब्रारले ३ तथा मार्को यानसन र अज्मतुल्लाह ओमरजाईले समान २ विकेट लिए ।
त्यसअघि जयपुरस्थित सवाई मानसिंह रंगशालामा टस जितेर ब्याटिङ रोजेको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१९ रनको योगफल तयार पारेको थियो ।
पञ्जावका लागि नेहाल बधेराले सार्वधिक ७० रन बनाए । उनले ३७ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे । यसैगरी शशांक सिंहले अविजित ५९, कप्तान श्रेयस अय्यरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन जोडे ।
राजस्थानका लागि तुषार देशपाण्डेले दुई तथा क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान १ विकेट लिए ।
जितसँगै १२ खेलमा १७ अंक जोडेको पञ्जाव दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान १३ खेलबाट ६ अंकसहित नवौं स्थानमा छ ।
