बार्सिलोनाले छ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सन् २०१९ पछि टोली अन्तिम चारमा पुग्न सफल भएको हो ।
तर, यसपटकको यात्रा सहज भने रहेन । बोरुसिया डर्टमुण्डसँग क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३-१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोर्यो ।
पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४-० को बलियो अग्रताले बार्सिलोना समग्रमा ५-३ को सेमिफाइनल पुगेको हो ।
डर्टमुण्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो । घरेलु समर्थकहरूको जोशिलो साथ र सर्हो गुइरासीको प्रभावशाली प्रदर्शनले टोली प्रेरित भएको थियो ।
गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन् । यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे ।
समूह चरणको खेलमा बार्सिलोनासँगको २-३ को हारमा उनले डर्टमुण्डका दुबै गोल गरेका थिए । यसपटक ह्याट्रिक पूरा गरे, तर त्यो प्रयास पनि नतिजा बदल्न पर्याप्त भएन ।
उनको प्रदर्शनले खेलमा डर्टमुण्डका खेलाडी र समर्थकहरूमा आशा जगाएको थियो, जब बार्सिलोनासँगको दूरी एक समय ४-३ मा झरेको थियो ।
गुइरासीले ११ औं पेनाल्टीमा पहिलो गोल गरे। उनले दोस्रो गोल ४९ औं मिनेटमा गरे ।
डर्टमुण्डका डिफेन्डर रामी बेन्सेबैनीले रोबर्ट लेवान्डोस्कीको दबाबमा आत्मघाती गोल गरेपछि बार्सिलोना फाइदा पुग्यो ।
गुइरासीले ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। तर, पहिलो लेगको फराकिलो हारका कारण टोली अघि बढ्न सकेन । बार्सिलोनाले अब सेमिफाइनलमा इन्टर मिलान वा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को क्वाटरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भएपनि पिएसजी ५-४ को अग्रतासहित सेमिफाइनल पुगेको छ ।
