बराबरीमा रोकियो चेल्सी

२०८१, २३ चैत्र आईतवार २३:२१

इंग्लिस प्रिमियर लिगको वेस्ट लण्डन डर्बीमा ब्रेन्टफोर्डले चेल्सीलाई गोलरहित बराबरीमा रोकेको छ ।

आइतबार ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

खेलको ३२औं मिनेटमा ब्रेन्टफोर्डका ब्रायन म्बुएमोले दायाँ साइडबाट काट्दै आएको बललाई पावरसाथ प्रहार गरे तर गोलपोस्टको बाहिर गए । पाँच मिनेटपछि लुइस-पोटरको हेडरलाई चेल्सीका गोलकिपर सान्चेजले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफको अन्त्यतिर चेल्सीलाई सुनौलो अवसर मिल्यो । टोसिन एक्लै रहेर हेडर गर्न सफल भए तर बल पोष्टको बाहिर गएको थियो ।

दोस्रो हाफमा चेल्सीले आक्रमणमा सुधार ल्याउन कोल पाल्मर, निकोलस ज्याक्सन र पेड्रो नेटोलाई मैदानमा उतारे । यता, ब्रेन्टफोर्डले म्बुएमो र विस्साको काउन्टर आक्रमणमै भर परेको थियो ।

खेलको ८१औं मिनेटमा विस्साले ड्याम्सगार्डको साइकल किक क्रसमा हेड गरे तर बल थोरै बाहिर गयो । अन्तिम समयमा पाल्मरले उत्कृष्ट मोडमा रहेर प्रहार गरे पनि बल बार माथिबाट बाहिरियो ।

बराबरीसँगै चेल्सी ३१ खेलबाट ५३ अंक जोडेर चौथो स्थानमा छ भने ब्रेन्टफर्ड समान खेलबाट ४२ अंकका साथ १२औं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *