नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको झापा एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको दिनको पहिलो खेलमा झापा र पोखराले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । ५१औं मिनेटमा बिनोङको गोलबाट पोखराले खेलमा अग्रता लिएको थियो । तर, खेलको ६५ औं मिनेटमा झापाका लागि लाजार आर्सिचले फ्रिकिक मार्फत गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै ५ खेलबाट ५ अंक जोडेको पोखरा तालिकाको चौथो स्थानमा उक्लिएको छ । यता लगातार चौथो खेलमा बराबरी खेलेको झापा ४ खेलमा ४ अंक जोड्दै छैठौं स्थानमा यथावत् रहेको छ ।
आजै दोस्रो स्थानको ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच साँझ ६ बजे खेल हुँदैछ । उक्त खेलमा जिते ललितपुर प्लेअफ पुग्नेछ ।
