तनावपूर्ण बनेको नेपाल सुपर लिग (एनएसएल) २०२५ को पाँचौं खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पोखरा थन्डर्स एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा ललितपुरले पोखरालाई ३-२ ले पराजित गरेको हो ।

ललितपुरको जितमा चिलीका मिडफिल्डर जोनाथान कान्टिलानाले दुई तथा नाइजेरियन फरवार्ड इमोह इजेकेलले एक गोल गरे ।

पोखराका लागि मार्की खेलाडी समीर तामाङ र जो आएड्डोले गोल गरे ।

खेलको छैटौं मिनेटमै कान्टिलानाले कर्नरबाट हानेको बल पोखराका किपरलाई लाग्दै गोलमा परिणत भएको थियो । पोखराका लागि समिरले ४२औं मिनेटमा बराबरी गोल फर्काए ।

तर, पहिलो हाफको इन्जुरी समयमै इजेकेलले गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए । कान्टिलानाले ७५औं मिनेटमा गोल गरेपछि ललितपुरले ३–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा खेल केहीबेर तनावपूर्ण बनेको थियो । ८२औँ मिनेटमा रेफ्री र पोखराका अफिसियलबीच विवाद हुँदा खेल तनावपूर्ण बन्यो । पोखराका टिमबाट सुन्दर थापा ८०औं मिनेटमा रेफ्रीले गोललाइन पार गरेको बललाई गोल मान्यता नदिएको भन्दै फोर्थ अफिसियल उमेश बिडारीसँग विवादमा उत्रिँदा खेल करिब पाँच मिनेट तनावपूर्ण बनेको हो ।

बिडारी र थापाबीच धक्कामुक्कीको स्थिति बन्दा छुट्याउन पुगेका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलाई समेत थापाले तानेर पोखराको टेक्निकल लाइननजिक भुइँमा लडाए ।

यसपछि रंगशालामा खटिएका प्रहरी विवादबीच आउँदा उनीहरू र पोखराका अफिसियलबीच पनि भनाभन चलेको थियो । यसैकारण खेल करिब पाँच मिनेट रोकिँदा १० मिनेट इन्जुरी समय थपिएको थियो । 

इन्जुरी समयमा आएड्डोले गोल गर्दै पोखराको खेलमा फर्किने आशा जगाएका थिए । तर, यसपछि थप गोल नहुँदा ललितपुरले ३–२ को रोमाञ्चक जित निकालेको हो ।

जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो । ललितपुरले यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग २–२ को बराबरी खेलेको थियो ।

यता, पोखराको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । पोखरा यसअघि पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *