डच डिफेन्डर भर्जिल भान डाइकले प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन् ।
क्लबका कप्तान समेत रहेका भान डाइकले आफ्नो सम्झौता दुई वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२७ सम्म लिभरपुलमा रहनेछन् ।
रिपोर्टअनुसार उनको नयाँ तलब प्रति हप्ता ३ लाख ८५ हजार पाउण्ड हुनेछ । भान डाइको सम्झौता सिजनको अन्त्यसँगै सकिदै थियो ।
उनले अहिलेसम्म क्लबका लागि ३१४ खेल खेलिसकेका छन् । यस अवधिमा उनले लिभरपुललाई प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, दुई लिग कप, युइएफए सुपर कप र क्लब विश्वकप जिताइसकेका छन् ।
भान डाइक सन् २०१८ मा अर्को इङ्लिस क्लब साउथह्याम्पटनबाट एनफिल्ड भित्रिएका थिए । केही दिनअघि फरवार्ड मोहम्मद सलाहले पनि आफ्नो सम्झौता दुई वर्ष बढाएका थिए ।
