प्रिमियर लिगमा टोटनहमसँग पराजित भएपछि साउथह्याम्पटन रेलिगेशनमा परेको छ ।
यो प्रिमियर लिग इतिहासमा सबैभन्दा चाँडो अर्थात् सात खेल बाँकी रहँदै घटुवा हुने पहिलो क्लब बनेको छ । साथै साउथह्याम्प्टन यो सिजन रेलिगेट हुने पहिलो टोली पनि बनेको छ ।
आइतबार राति घरेलु मैदान भएको खेलमा टोटनहमले साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो ।
टोटनहम रंगशालामा आइतबार घरेलु टोली टोटनहमलाई जित दिलाउन बेर्नान्न जोन्सन र म्याथिस टेलले गोल गरे । साउथह्याम्पटनका लागि म्याटियस फर्नान्डेसले गोल फर्काए ।
खेलको पहिलो हाफमै जोन्सनले दुई गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए । उनले १३औं र ४२औं मिनेटमा गोल गरेका थिए ।
९०औं मिनेटमा साउथह्याम्प्टनका लागि फर्नान्डेजले एक सान्त्वना गोल फर्काए । त्यसपछि इन्जुरी समयमा टोटेनहमका टेलले पेनाल्टीमार्फत गोल गर्दै ३-१ को नतिजा सुनिश्चित गरे ।
जितसँगै ३१ खेलमा ३७ अंक जोडेको टोटनहम १४औं स्थानमा छ । साउथह्याम्पटन भने समान खेलबाट १० अंकका साथ पुछारमा छ । अब बाँकी सबै खेल जिते पनि टोलीले १७औं स्थाममा रहेकाे उल्भरह्याम्पटनलाई उछिन्न सक्दैन ।उल्भरह्याम्पटनको ३२ अंक छ ।
