साविक विजेता ललितपुर सिटी एफसी तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २-१ गोलले पराजित गर्दै १० खेलाडीमा सिमित ललितपुर फाइनलमा पुगेको हो ।

ललितपुर लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको हो । यो सँगै एनएसएलमा ललितपुरले अपराजित यात्रालाई दशौं खेल सम्म पुर्याएको छ ।

खेलको १६औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । बल नियन्त्रणमा लिने प्रयास गर्दा मणिकुमार लामा धनगढीका मोहम्मद अलजओनी सँग ठोकिन पुगेका थिए । रेफ्री उमेश बिडारीले सहायक रेफ्री किसन कन्हैया यादवसँग सल्लाह गरेर मणिलाई सीधै रातो कार्ड देखाए । 

ललितपुरको जितमा दुई विदेशी खेलाडी बेलफोर्टले र पापा इबाउ केबेले गोल गरे । धनगढीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे ।

खेलको ५७औं मिनेटमा बेलफोर्टले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । 

तर, चार मिनेटपछि नै वैकल्पिक खेलाडी जर्जप्रिन्सले धनगढीका लागि बराबरी गोल फर्काए । जर्जप्रिन्सले मैदान छिरेको एक मिनेट पनि बित्न नपाउँदै गोल गरे । उनी ६०औं मिनेटमा दिपेश राईको स्थान लिँदै मैदान प्रवेश गरेका थिए । 

खेलको ७९औं मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाए । उनले धनगढीका चार रक्षकलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

खेल सकिएपछि विपक्षी खेलाडीलाई लडाएपछि धनगढीका रक्षक काइसेडाेले दोहोरो पहेंलोसहित राताे कार्ड बेहोरेका थिए । यसैगरी बिबादमा उत्रिएपछि ललितपुरका पेपे डियाकेटेले पनि राताे कार्डकाे सामना गरेका थिए

ललितपुरले अब बैशाख १३ गते उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ । 

पराजित धनगढीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । पोखरा थण्डर्स र चितवनबीच आइतबार एलिमनेटर हुनेछ । त्यस खेलको विजेतासँग धनगढीले बैशाख १० गते खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *