नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो ।
शन्बार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा पुलिसले ६ पटकको उपाधि विजेता एपिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले २५-१५, २५-२३ र २५-१६ स्कोर गर्दै उपाधि सुनिश्चित गर्यो । पुलिसकी कमला पुन ‘प्लेयर अफ म्याच’ घोषित भइन् । एपिएफ सुरुका पाँच संस्करण र सातौं संस्करणको विजेता हो । छैटौं संस्करणको उपाधि न्यु डायमन्डले जितेको थियो ।
पुलिस अपराजित रहँदै च्याम्पियन बन्यो । उपाधि यात्रासम्म पुलिसले कुनैपनि सेटको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पेन । पुलिसले लिगमा न्यु डायमन्डलाई २५-१४, २५-२२ र २५-१३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा पुलिसले नेपाल आर्मीलाई २५-६, २५-२२ र २५-२३ ले हराउदै एपिएफसंग उपाधि भेट पक्का गरेको थियो ।
त्यस्तै एपिएफले लिगमा आर्मी र एभरेष्ट भलिबल क्लबलाई समान ३-० को नतिजामा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा एपिएफले न्यु डायमन्ड ३-१ ले पाखा लगाउदै फाइनल पुगेको थियो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले तेश्रो स्थानमा चित्त बुझायो । न्यु डायमन्डले आर्मीलाई २५-१९, २५-१२ र १५-१८ ले पराजित गर्यो । न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ बनिन् ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार नेपाल एसबीआई बैंक लिमिटेडले प्रायोजन गरेको छ ।
पुलिसकी कामना विष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । कामनाले मुक्तिनाथ विकास बैंकद्वारा प्रायोजित ५० हजार नगद पुरस्कार पाइन् । कामनाले काठमाडौं- बैंकक-काठमाडौंको हवाइ टिकट पनि हात पारिन् ।
विधागततर्फ स्काइकरमा एपिएफकी निरुता ठगुन्ना, ब्लकरमा प्रहरीकी पुनम चन्द, सेटरमा प्रहरीकी कमला पुन, लिबेरोमा प्रहरीकी शान्तिकला तामाङ, सर्भरमा एपीएफकी पूजा चौधरी र प्रशिक्षकमा प्रहरीका रुपेशकुमार विष्ट उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए ।
विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका हो । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको प्रायोजक नविल बैंक हो ।
सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको विमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ । प्रतियोगिता अवधिभरको खाजाको व्यवस्था टिप टपले व्यवस्थापन गरेको हो ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामा, मुख्य प्रायोजक केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।
