रोहित शर्मा र सुर्यकुमार यादवले अविजित अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि मुम्बई इन्डियन्सले इण्डियन प्रिमियर लिग (आईपिएल) २०२५ मा चौथो जित हासिल गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ९ विकेटले पराजित गर्दै मुम्बईले चौथो जित निकालेको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि रोहित शर्माले ४५ बलमा अविजित ७६ रन बनाए भने सूर्यकुमारले यादवले ३० बलमा अविजित ६८ रन बनाए । ओपनर रायन रिकेल्टन २४ रनमा आउट भए ।चेन्नईका लागि एक मात्र विकेट रबिन्द्र जडेजाले लिए ।

त्यसअघि वाङखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको थियो ।

चेन्नईका रवीन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । यसैगरी शिवम दुबेले ५०, आयुष म्हात्रेले ३२ र शेख रशिदले १९ रन बनाए । मुम्बईका लागि जसप्रीत बुमराहले दुई तथा दिपक चहर, अश्वनी कुमार र मिचेल सान्टनरले समान १ विकेट लिए ।

चौथो जितसँगै ८ खेलबाट ८ अंक जोडेको मुम्बई अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ । ८ खेलमा छैटौं हार बेहोर्दा ४ अंक मात्र भएको चेन्नई १०औं स्थानमा यथावत् छ र अब प्लेअफ सम्भावना कठिन हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *