काठमाडौंमा बिहीबारदेखि सुरु भएको यु-१९ एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल यु-१९ टोली अफगानिस्तान यु-१९ टोलीसँग १३० रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ३०१ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रनमा अलआउट भयो ।

नेपालका लागि ओपनर निरज कुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रन जोडे ।

अफगानिस्तानका लागि जैबुल्लाह शाहीन, महबुब खान र वाहिदुल्लाह जाद्रानले समान २ तथा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले समान एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३०१ रनको बलियो योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७, खालिद अहमदजाईले ७६, बर्कत इब्राहिमजीले ३५, उजेरउल्लाहले २४, अजिज मिअया खिलले २१ र नजिफुल्लाह अमिरीले १० रन बनाए ।

नेपालका लागि सन्तोष यादवले तीन, अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।

नेपाल र अफगानिस्तान यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । छनोट अघि दुवै टोलीले ३ खेलको एकदिवसीय सिरिज खेलिरहेका हुन् ।

अब दोस्रो खेल आइतबार हुनेछ । एसिया छनोट अर्को साता नेपालमा सुरु हुँदैछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमा टोलीको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *