नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित आइतबार १२ पदक जितेको छ । यु-१९ र यु-१५ उमेरसमूहमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले कब्जा गर्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले नेपाललाई स्वर्ण दिलाए ।

सोही स्पर्धाको गल्समा नेपालका इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले रजत जिते । इभाना र वियंकाको जोडीले यु-१९ गल्स डबल्समा पनि रजत हात पारे । यु-१५ गल्स डबल्समा नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडी दोश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत प्राप्त गरे । यु-१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी रजत जित्न सफल भए । यु-१५ ब्वाइज डबल्समा नेपालका प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी दोश्रो स्थानमा रहे ।

यु-१५ गल्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यु-१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यु-१५ गल्स सिंगल्समा शुभश्री, यु-१९ गल्स सिंगल्समा इभाना, यु-१५ ब्वाइज सिंगल्समा प्रजिल भट्टराई तथा यु-१९ ब्वाइज सिंगल्समा गनञ्जय दाहालले नेपालका लागि कांस्य जिते ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामा, आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, महासचिव कुँवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा भुटान बाहेक ६ दक्षिण एसियाली राष्ट्रका ८५ खेलाडी सहभागी थिए । यु-१९ को ब्वाइज गल्स टिम इभेन्टमा पहिलो र दोश्रो हुने टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *