इन्डियन प्रिमियर लिग (IPL) २०२५ मा चेन्नई सुपर किंग्स (CSK) ले आफ्नो कप्तान ऋतुराज गायकवाडलाई गुमाएसँगै युवा प्रतिभामा विश्वास देखाउँदै १७ वर्षीय मुम्बईका ओपनर आयुष म्हात्रेलाई टोलीमा भित्र्याएको छ। गायकवाडको कुहिनोमा चोट लागेपछि उनी प्रतियोगिताको बाँकी खेलबाट बाहिरिएका छन्।

यसअघि दुई हप्ताको ट्रायलका लागि बोलाइएका म्हात्रेले आफ्नो प्रदर्शनमार्फत CSK व्यवस्थापनको मन जित्न सफल भएका थिए। उनी आगामी अप्रिल २० मा वानखेडे स्टेडियममा हुने मुम्बई इन्डियन्सविरुद्धको खेलअघि नै टोलीमा सामेल हुनेछन्।

म्हात्रेले घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। उनले पहिलो श्रेणीका ९ खेलमा ५०४ रन बनाइसकेका छन् भने लिस्ट ए क्रिकेटमा ७ खेलमा ४५८ रन बनाएका छन्। लिस्ट ए मा उनका दुई शतक छन्, जसमा नागाल्याण्डविरुद्ध बनाएको १८१ रन विशेष चर्चित रह्यो।

अहिलेसम्मको IPL २०२५ मा संघर्षरत देखिएको CSK ले एक मात्र जित हात पार्दै प्रारम्भिक चरणमै दबाब महसुस गरिरहेको छ। यस्तो अवस्थामा म्हात्रेले टिमको ब्याटिङ लाइनअपमा नयाँ ऊर्जा ल्याउने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *