गोर्खाली रग्बी क्लब पाँचौं संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०२५ को विजेता बन्न सफल भएको छ ।

मङ्गलवार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५-० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो । जितसँगै गोर्खालीले लिगको तीन वटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।

त्यसैगरी मङ्गलवार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई एक सङ्घर्षपूर्ण खेलमा १९-७ ले पराजित गर्दै उपविजेता बन्न सफल भयो । गत वर्षको उपविजेता एपीएफ भने तेस्रो स्थानमा सीमित भयो । नेपाल पुलिस क्लबले भने प्रतियोगितामा अङ्क बटुल्न सकेन ।

प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल रग्बी सङ्घका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेले पुरस्कार वितरण गर्नुभयो ।

विजेता गोर्खाली रग्बीले नगद रु २ लाख २२ हजार २ सय २२ रुपैंया प्राप्त गरे भने उपविजेता एपीएफले १ लाख ११ हजार १ सय ११ रुपैंया हात पार्यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए । उनले रु १५ हजार प्राप्त गरे ।

प्रतियोगिताको कठिन मानिएको दुई खेलमा एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बी क्लबका लागि मङ्गलवारको खेल तुलनात्मक रूपमा सहज बन्न पुग्यो । एकपक्षीय खेलमा गोर्खालीले पहिलो हाफमा ४०-० को अग्रता लिइसकेको थियो ।

गोर्खालीले पहिलो सेटमै वैकल्पिक खेलाडी राखेर मैदानमा उत्रिएको थियो । पहिलो पटक फिफ्टिन्स खेलिरहेको नेपाल पुलिस क्लबसँगको खेल सहज हुने अनुमान गरिए जस्तै नै खेलमा गोर्खाली सुरुआत देखि नै हाबी हुन पुग्यो । दोस्रो हाफमा भने टोलीले १५ अङ्क थपेको थियो ।

नेपाल प्रहरीले कुनै स्कोर जोड्न सकेन । त्रिभुवन आर्मी र एपीएफ बिचको खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । एपीएफले सुरुआतमा एक ट्राई र कन्भर्जनलाई सफल पारेर ७ अङ्क जोडेको थियो । सेनाले ५ अङ्क जोडेपछि पहिलो हाफ ७-५ को प्रतिस्पर्धात्मक स्थितिमा पुगेको थियो ।

तर दोस्रो हाफमा सेना खेलमा फर्कियो । दोस्रो हाफको सुरुआतमा लगातार ७ अङ्क जोडेपछि सेनाले खेलमा अग्रता बनायो र त्यसलाई अन्तिम समयसम्म कायम राख्यो । एपीएफले खेलमा फर्किने प्रयास सफल भएन । बरु खेल सकिनै लाग्दा सेनाले अर्को एउटा ट्राई गरेर खेल १९-७ ले जित्न सफल भयो ।

नेपाल रग्बी सङ्घको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागीय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बङ्गलादेश बिच काठमाडौँमा हुने फिफ्टिन्स रग्बी शृङ्खलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *