विभागीय टोली नेपाल पुलिस क्लब विरुद्ध एक दिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोसी प्रदेशले एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न समूह ‘बि’ अन्तर्गतको पहिलो खेलमा कोसीले पुलिसलाई स्तब्ध पार्ने क्रममा ३७ रनको जित दर्ता गर्यो । मात्र ९४ रनको लक्ष्य पछ्याएको पुलिसले २४.५ ओभरमा ५६ रनमा सबै विकेट गुमायो ।
नेपाल पुलिस क्लबको ब्याटिङमा कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिङ गरेका रोहण विकले ६, अविनाश कर्णले ९, शङ्कर रानाले ५, दीपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरी खाता नखोली आउट भए । ३४ रनमा ६ विकेट गुमाएपछि कोशीले पुलिसलाई खेलमा फर्कन दिएन ।
कोशीको बलिङमा डेब्यु गरेका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले ५ विकेट लिए । ९ ओभर बलिङ गर्दै ३ मेडन गरेर १५ रन मात्र खर्चिएका प्रेम प्लेयर अफ द म्याच घोषित भए । अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ३ विकेट लिए जुन क्रममा उनले ९ बोहराले २ मेडन गर्दै १६ रन मात्र खर्चिए। भूपाल लुइँटेलले १ विकेट लिँदा पुलिसले एक विकेट रन आउट मार्फत गुमायो ।
यस अघि टस हारेर ब्याटिङ गरेको कोसी प्रदेशले २९. ३ ओभरमा ९३ रनमा सबै विकेट गुमायो ।
कोसीको ब्याटिङमा ओपनर रूपक बरालले सर्वाधिक २१ रन बनाए । मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाए ।
नेपाल पुलिस क्लबको बलिङमा पेसर सुनिल दौल्यालले ५ विकेट लिए जुन क्रममा उनले ८ ओभरमा २५ रन खर्चिए । विपिन खत्री र चित्र बिस्टले समान २ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत समूह ‘बि’ दोस्रो खेलमा भोलि बुधवार कोसी प्रदेशले भारतको आसाम क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
भोलि कोसीले आसामलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ । आसामले कोसीलाई पराजित गरेको खण्डमा बिहीबार हुने आसाम र नेपाल पुलिस क्लब विरुद्धको खेलले फाइनल पुग्ने टिमको निर्धारण गर्नेछ । समूह ‘ए’ को विजेताको रूपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बि’ मा नेपाल पुलिस क्लब, कोसी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
