नेपाल एपिएफ क्लब र नेपाल आर्मी क्लब आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५-१९, २५-१५ र २५-१० को सोझो सेटमा पराजित गर्यो । एपिएफकी पूजा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
समूह ‘ए’ कै अर्को लिगमा आर्मीले एभरेष्टलाई नै सीधा सेटमा २५-१६, २५-१८ र २५-१७ ले हरायो । आर्मीकी सोफिया पुन ‘प्लेयर अफ द म्याच’ बनिन् । ३ टोली रहेको यो समूहमा लगातार दोश्रो पराजयसँगै एभरेष्ट प्रतियोगिताबाट बाहिरिएको छ ।
एपिएफ लगातार दोश्रो जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । एक खेल जितेको आर्मी समूह उपविजेताका हैसियतले सेमिफाइनल पुग्न सफल भयो ।
सेमिफाइनलमा आर्मीको भेट पुलिससँग हुनेछ भने अर्को सेमिफाइनलमा एपिएफले न्यु डायमन्डविरुद्ध खेल्ने छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।
