काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा भएको अनियमितता बारे छानबिन गर्न समिति गठन भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार एनपीएलको अनियमितता बारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
परिषद्का सदस्य अञ्जन धमलाको संयोजकत्वमा गठन भएको छानबिन समितिमा सारङ्गी निरौला र कमल दाहाल रहेका छन् । परिषद्ले समितिलाई यथार्थ छानबिनका लागि १५ दिनको समय दिएको बताइएको छ ।
गत मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको एनपीएलमा नेपालको कानुन विपरीत अवैध रूपमा विदेशी कम्पनीलाई नेपाल लेराएको, प्रत्यक्ष प्रसारणको अधिकार बेचेको, विदेशी कम्पनीलाई एनपीएलको व्यवस्थापनको जिम्मा दिएको र मैदानमा अनलाइन जुवा खेलाएको लगायत विषयमा विरोध हुँदै आएको थियो ।
यस्तै प्रतियोगिता दौरान सरोगेट ब्रान्डको प्रचार गर्नुका साथै नेपालको कानुन विपरीत अन्तर्राष्ट्रिय विज्ञापनहरू प्रसारण गरेको भन्दै एनपीएलको आयोजक समिति विवादमा तानिएको थियो ।
त्यसपछि यो विषयमा सत्यतथ्य छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद मन्त्रालयलाई निर्देशन दिएको बताइएको छ । क्यानका सचिव पारस खड्का एनपीएल आयोजक समितिका प्रमुख हुन् ।
