विराटनगर । मोरङ अपराजित रहँदै विराटनगरमा जारी चौथों संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा मोरङले सप्तरीलाई ७ विकेटले पराजित गरेको हो । यसअघिनै मोरङ र सप्तरीले फाइनलको यात्रा तय गरिसकेका थिए ।
मोरङले अपराजित रहँदै ३ खेलबाट ६ अंक जोड्यो भने सप्तरीले ३ खेलमा ४ अंंक जोड्यो ।
८२ रनको लक्ष्य पछ्याएको मोरङले १०.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्सा राना मगरले अविजित १५ रनको योगदान दिइन् । टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८१ रन बनाएको थियो । सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडिन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले समान एक विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा सिरहाले इलामलाई १ सय ३३ रनको पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्यो । दुवै टिमले लगातार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको थिए । सिरहाले ३ खेलमा १ मा जित हात पार्दै २ अंक बटुल्दा इलामले भने तीनै खेलमा पराजित भयो ।
१९६ रनको विशाल लक्ष्य पछ्याएको इलामले १६.४ ओभरमा ६२ रनमा समेटियो । इलामका लागि दिपा लिम्बु सर्वाधिक ११ रन बनाइन् । सिरहाकी अनु यादव र प्रसिद्का खडकाले समान ३ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको विशाल योगफल तयार पारेको थियो ।
सिरहाकी प्लेयर अफ द म्याच सरस्वती चौधरीले अविजित ७८ रन बनाउँदा मिना महतोले २६ रनको योगदान दिइन् । चौधरीले ६२ बलमा १० चौका प्रहार गरिन् । इलामकी मुना राई, टिकामाया तामाङ, प्रयंका राई र रञ्जना लिम्बुले समान १ विकेट लिए ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा जारी प्रतियोगितामा कुल ४ टोली सहभागी थिए । प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।
