विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता आज (बिहीबार) देखि शुरु हुँदै छ ।

राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा झापा, सुनसरी, मोरङ र आयोजक राष्ट्रिय बहिरा क्रिकेट संघ गरी चार टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ९० हजार रुपैयाँ र उपविजेता टिमले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस प्रतियोगिताले बहिरा समुदायका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले प्रतियोगिताको उद्देश्य बहिरा समुदायमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउने रहेको बताए । यसले बहिरा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्षम बनाउने उनको भनाई छ ।

प्रतियोगिताका सबै खेलहरू निःशुल्क अवलोकन गर्न सकिने र दर्शकहरूलाई उत्साहजनक वातावरणमा खेल हेर्न आउन अध्यक्ष तिवारीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *