राजविराज । राजविराजको पब्लिक विन्देश्वरी स्कुलको खेल मैदानमा जारी मधेश प्रिमियर लिग क्रिकेटको तेस्रो संस्करणमा मिथिला वारिर्यसले काठमाडौं रार्यल्सलाई १४ रनले पराजित गरेको छ ।
मिथिलाले दिएको १५९ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।
काठमाडौंका लागि अर्जुन साउदले ३३ रन बनाउँदा अमित श्रेष्ठ र रुपेशकुमार साहले समान २४ रनको योगदान लिए। मिथिलाका प्लेयर अफ दि म्याच कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मिथिलाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५८ रनको योगफल तयार गरेको थियो ।
मिथिलाको जितमा सुमित महर्जनले ३० बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ५३ रन बनाए । यसैगरी रविकुमार साहले ३० रन र कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित २३ रन बनाए । काठमाडौंका लागि अमित श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिए ।
लिगको अधारमा खेलाइएको प्रतियोगिका ६ टिम सहभागि रहेको आयोजकका अध्यक्ष संजीवनारायण यादवले जानकारी दिए ।
