चेल्सी पुनः इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

टोटेनहमलाई १-० ले पराजित गरेपछि म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी चौथो स्थानमा पुगेको हो ।

एन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सीले बिहीवार जित निकालेको हो । यसले टोलीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बढायो ।

टोटेनहमको हारले मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुमाथि दबाब थपिएको छ । टोटेनहम तालिकाको १४औं स्थानमा छ । सन् २००८ यता पहिलो पटक टोली शीर्ष १० बाहिर रहने सम्भावना बढेको छ ।

चोटमुक्त भएर कोल पामर र निकोलस ज्याक्सन फर्किएपछि बलियो बनेको चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल नियन्त्रणमा राख्यो । तर, पहिलो हाफमा धेरै अवसर खेर फाल्दा गोलरहित बराबरीमै रोकिएको थियो ।

दोस्रो हाफमा पनि चेल्सीले उस्तै दबाब बनायो । त्यसको नतिजा ५०औं मिनेटमा निस्कियो । फर्नान्डेजले पामरको मिलिमिटर-नापिएको क्रसमा हेड गर्दै गोल गरे ।

यो जितसँगै ३० खेलमा चेल्सीको ५२ अंक पुगेको छ । साविक विजेता म्यानचेस्टर सिटीको ५१ र छैटौं स्थानको न्युक्यासलको ५० अंक छ । टोटेनहमको ३४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *