विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार भएको अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २–० गोलले हराउँदै चर्च ब्वाइजले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् । चर्च ब्वाइजले अब फाइनल प्रवेश गर्न सोमबार पुलिसलाई चुनौती पेस गर्नेछ।

चर्च ब्वाइजको जितमा विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरे । ३५औं मिनेटमा लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले बललाई पोस्टको दिशा दिए । ६४औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि उनी चन्दन दासको स्थानमा मैदान प्रवेश गरेका थिए । 

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार रुपैयाँ हात पारे ।

चर्च ब्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । माघ २७ गते सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरुको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली त्रिभूवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच साँझ ६ः३० बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा समूह सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *