आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सले नवौँ जित निकालेको छ ।

नवौं जित दर्ता गर्नेक्रममा नेदरल्याण्ड्सले बिहीबार नामिबियालाई ७ विकेटले हरायो । आफ्नो १६औं खेलमा नामिबियाले दिएको १ सय ४९ रनको लक्ष्य ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्याण्ड्सका लागि अविजित रहेका कोलिन एकरम्यानले ५४ र कप्तान स्कट एडवर्ड्सले ५२ रन बनाए । यस्तै, ओपनर विक्रम जित सिंह र म्याक्स ओदाउदले समान १७ रन जोडे । नामिबियाका लागि बर्नार्ड स्कोल्जले दुई तथा जेजे स्मितले एक विकेट लिए ।

वान्डरर्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टिम नामिबिया ४५.५ ओभरमा १ सय ४८ रनमै अलआउट भयो । नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले अर्धशतकीय पारी खेले । उनले १०२ बलमा तीन छक्का र तीन चौकासहित ६३ रनको पारी खेलेका हुन् ।

यस्तै, जान ग्रीनले १९, मलान कुगरले १५ र निकोलस डाविनले १४ रन जोडे । नेदरल्याण्ड्सका लागि आर्यन दत्त, पउलभान मेक्रन र कायल क्लेनिले तीन-तीन तथा ज्याक लायन-क्याचेटले एक विकेट लिए ।

जारी लिग-२ संस्करणमा नेदरल्याण्ड्सको यो नवौं जित हो । उसले अहिलेसम्म १६ म्याच खेल्दा ९ मा जित, पाँचमा हार तथा दुई खेलमा अंक बाँडेको छ । नेदरल्याण्ड्स २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यस्तै, नामिबिया १८ खेलबाट १२ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । अहिलेसम्म १३ मा हार तथा ६ खेलमा मात्र जित निकालेको छ ।

जारी लिग-२ तालिकामा नेपाल ६ अंकसहित तालिकाको सातौं स्थानमा छ । नेपालले १२ म्याच खेल्दासम्म आठमा हार, दुईमा जित र दुई खेलमा अंक बाँडेको छ ।

नेपालले अब चौथो सिरिज जुन महिनामा खेल्ने तालिका छ । त्यस सिरिजमा नेपालले आयोजक स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *