इटालियन सिरी ‘ए’ मा लिग लिडर इन्टर मिलानले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मोन्जालाई ३-२ ले हरायो ।
सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिच, हाकान काल्हानोग्लुले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । मोन्जाका लागि स्यामुएल बिरिन्डेली र केइटा बाल्डे डियाओले गोल गरे ।
खेलो ३२औं मिनेटमा बिरिन्डेलीले गोल गर्दै मोन्जालाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा डियाओले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफो इन्जुरी समयमा इन्टरका अर्नाउटोभिचले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ६४औं मिनेटमा काल्हानोग्लुले इन्टरका लागि बरारबी गोल फर्काए ।
जियोर्गोस किरियाकोपोलोसबाट ७७औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा इन्टर ३-२ ले विजयी भयो ।
जितसँगै २८ खेलमा ६१ अंक जोडेको इन्टर तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित मोन्जा २८ खेलबाट १४ अंकका साथ तालिकाको पुछारमा छ ।
त्यस्तै, शनिबार राति नै भएका अन्य खेलम एसी मिलानले लिचलाई ३-२ ले पराजित गर्दा पार्मा टोरिनोसँग २-२ तथा कोमो भेनेजियासँग १-१ को बराबरीमा रोकियो ।
