जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सबको अवसरमा आयोजित मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन आइतबार ६ खेल सम्पन्न भएका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल जावलाखेलमा आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन महिलातर्फ दुई र पुरुषतर्फ तीन खेल सम्पन्न भएका हुन् ।
महिलातर्फको पहिलो खेलमा महालक्ष्मी नगरपालिका ललितपुरले निलकण्ठ नगरपालिका धादिङलाई २-१ को सेटमा हरायो ।
पहिलो सेट २५-१३ ले जितेको निलकण्ठले दोस्रो सेट २७-२५ ले गुमाएपछि खेल तेस्रो सेटमा पुगेको थियो । जसमा महालक्ष्मी १५-१२ को स्कोरमा विजयी भयो ।
महिलातर्फको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकलाई २५-१३, २५-९ को स्कोरमा हराउँदै विजयी सुरुआत गर्यो ।
यस्तै, पुरुषतर्फ महांकाल गाउँपालिका ललितपुरले पंञ्चकन्या गाउँपालिका नुवाकोटलाई २५-२०, २५-२० को स्कोरमा हरायो ।
दोस्रो खेलमा ललितपुर महानगरपालिकाले मेलुंग गाउँपालिका दोलखालाई २५-१८, २५-१९ को स्कोरमा पराजित गर्यो ।
तेस्रो खेलमा खाडाँदेवी गाउँपालिका रामेछापले पनौती नगरपालिका काभ्रेलाई २५-१४, २९-२७ले पराजित गर्दै विजयी सुरुआत गर्यो ।
चौथो तथा दिनको अन्तिम खेलमा गल्छी नगरपालिका धादिङ मन्थली नगरपालिका रामेछापसँग १६-२५, १०-२५ ले पराजित भयो ।
बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेको यस प्रतियोगितामा समूह चरणका खेलहरु वेस्ट अफ थ्रीमा खेलाईएको छ भने क्वारफाइनलदेखि वेस्ट अफ फाइब हुनेछ ।
प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन् । उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन् । प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।
प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन् । प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ ।
नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
