जावलाखेल । ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा मंगलबार महिलातर्फ दुई क्वाटरफाइनल तथा पुरुषतर्फ चार खेल सम्पन्न भएको हो ।

महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेस्वर गाउँपालिकालाई २-१ को स्कोरमा हरायो । पहिलो सेट १८-२५ ले गुमाएको महालक्ष्मीले त्यसपछि दुई सेट २५-२२ र १५-९ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो ।

यस्तै अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले बिगु गाउँपालिकालाई २५-१४, २२-२५ र १५-१२ को स्कोरले हरायो ।

महिलातर्फ सेमिफाइनलमा अब महालक्ष्मीले बिगु गाउँपालिका तथा ललितपुर महानगरले निलकण्ठ नगरपालिकाको सामना गर्नेछ । पहिलो सेमिफाइनल बिहान ८ बजे र दोस्रो सेमिफाइनल १० बजेबाट सुरु हुनेछ ।

यस्तै पुरुषतर्फ सेमिफाइनलमा मेलुङ गाउँपालिकाले महाङ‌काल गाउँपालिकासँग खेल्नेछ भने अर्को सेमिफाइनलमा आयोजक ललितपुर महानगरले मन्थली नगरपालीका ए रामेछापको सामना गर्नेछ । पहिलो सेमिफाइनल दिउँसो १ बजे र दोस्रो सेमिफाइनल २:३० बजे हुनेछ ।

यसअघि ललितपुरले मन्थली बी लाई २५-१९, २१-२५, २५-१३ र २५-१५ को स्कोरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अर्को खेलमा मन्थली बी ले दुप्चेश्वर गाउँपालिकालाई २५-१८, १८-२५, २५-१९, २५-२७ तथा १५-१३ को स्कोरले पराजित गर्यो ।

मेलुङले बागमती गाउँपालिका ललितपुरलाई २५-२२, २५-२१ र २९-२७ को स्कोरमा हराउँदै ३-० को सोझो सेटमा पराजित गर्यो ।

अन्तिम क्वाटरफाइनलमा महांकालले खाँडादेवी गाउँपालिका रामेछापलाई ३-० को सेटमा हरयो । पहिलो सेट, २५-२२, दोस्रो सेट २५-२० तथा अन्तिम सेट २५-११ को स्कोरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

जारी बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन् । उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन् । प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ ।

प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन् । प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ ।

नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *