मेचीनगर गोल्ड कपको तयारी पूरा

२०८१, २३ फाल्गुन शुक्रबार २०:०२

पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आज खेलमैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । ५ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका संस्थापक अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।

त्यस्तै, स्तरोन्नति तथा मर्मत गरेर आकर्षक खेलमैदान बनाइएको छ । रोलर लगाएर, घाँस मिलाएर तथा मैदान सम्याएर खेलमैदान बनाइएको मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिए ।

शनिवार उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ । बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २६ गते उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २७ गते अन्तिम क्वाटरफाइनलमा एपिएफ एफसीले मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।

चैत २ गते हुने फाइनल खेलको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक विमल आचार्यले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, उच्च गोलकर्ताले २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलकिपरले समान २१ हजार तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ म्याचले ११ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सचिव राजु कार्कीले बताए ।

मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *