लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशले प्रदेशले विजयी सुरुवात गर्दा कोशी प्रदेशले लगातार दोस्रो फराकिलो हार व्यहोरेको छ ।
मंगलबार भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
मधेशले दिएको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले सार्वधिक २५ रन बनाए । यसैगरी सुजन थपलियाले २४, फिरदोर अन्सारीले २१ र दिपेश कँडेलले २० रन बनाए ।
मधेशका लागि रुपेश सिंहले ९ ओभरमा २९ रन दिएर ५ विकेट लिए । यसैगरी राजेश यादवले ३ तथा हरिशंकर साह र प्रदिप पासवानले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रनको योगफल तयार पारेको थियो ।
मधेशका लागि पवन सर्राफले सर्वाधिक ९२ रन बनाए । ८५ बल खेलेका उनले ११ चौका र दुई छक्का प्रहार गरे । चोटका कारण लामो समयपछि क्रिकेटमा फर्केका सर्राफले पहिलो खेलमै लय देखाए ।
कप्तान अनिल साहले ७५ तथा दिपेश दासले अविजित ५६ रन बनाए । हरिशंकर साहले २९ रन बनाए ।कोशीका लागि बिपिन महतो र प्रकाश कार्कीले समान २ तथा फिर्दोश अन्सारी र दिपेश कँडेलले समान एक विकेट लिए ।
जितसँगै मधेशले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित कोशी अंकविहिन छ । पहिलो खेलमा कोशी लुम्बिनीसँग २६ रनले पराजित भएको छ ।
