अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा फागुन २५ गते बाट सुरु हुने शहिद स्मारक वी डिभिजिन लिगको तयारी पूरा भएको छ ।
एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् ।
प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइने छ ।
प्रतियोगितामा १४ क्लबहरु आरसिटी, श्री भगवती क्लब, च्यासल युथ क्लव, ब्रिगेड व्याइज क्लब, व्वाइज यूनियन क्लब, मध्यपुर युथ क्बल, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बासवारी क्लब, नया वस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगज यूनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ्ग व्वाइज युनाइटेडको सहभागिता रहनेछ ।
लिगको बिजेताले १५ लाख, उपविजेताले १० लाख, तेस्रो हुनेले ५ लाख पाउने एन्फाले जनाएको छ । अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि प्रस्कृत गरिनेछ । फेयर प्लेय टिमले १ लाख पाउनेछ भने उत्कृष्ट खेलाडी पनि १ लाख पाउनेछ ।
उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउनेछन् भने हरेक खेलको प्लेयर अफ द म्याचले ७ हजार ५ सय पाउने छ । यस्तै हरेक खेलको विजेता टोलीले थप २५ हजार पाउनेछ भने बराबरी भए दुवै टिमले १०-१० हजार पाउनेछ ।
लिगको कूल बजेट ३ करोड, ९३ लाख १ हजार ८१४ रुपैयाँ रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।प्रतियोगिताको मार्केटिङ्ग, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई प्रदान गरिसकिएको छ ।
यसअघि नै एमडीएसीले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको अधिकार किनेको थियो । त्यही अनुसार नै बी डिभिजनको मार्केटिङ्ग, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई नै दिईएको प्रवक्ता शाहले बताए ।
प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ रु १०० र भीआइपी पारापिटतर्फ रु ३०० तय गरिएको छ। त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए ।
‘बी’ डिभिजन लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछ भने पूछारको दुई टोली घटुवा हुनेछ ।
