स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रीडलाई २४ घण्टाभित्रै दोश्रो स्थानमा धकेल्दै बार्सिलोना पुनः पहिलो स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा घरेलु टोली बार्सिलोनाले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० ले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो ।
खेलको २५औं मिनेटमा मार्टसन तथा २९औं मिनेटमा कासाडोले गोल गरेपछि बार्सिलोनाले घरेलु मैदानमा पहिलो हाफमै २-० को अग्रता बनायो । त्यसअघि १७औं मिनेटमा अरिज एलुस्टोन्डोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो ।
५६औं मिनेटमा अराउजोले बार्साको अग्रता थप विस्तार गर्दा ६०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।
जितसँगै शीर्षस्थानमा पुगेको बार्सिलोनाको २६ खेलबाट ५७ अंक भएको छ । समान खेल खेलेको एट्लेटिको मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ भने समान खेल खेलेको रियल मड्रिड ५४ अंकसहित दोस्रो स्थानमा छ ।
