पिएम कपमा बागमतीको पहिलो जित

२०८१, ३० फाल्गुन शुक्रबार १७:४८

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ ।

शुक्रबार भैरहवाको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा अलआउट भयो ।

टेक रावतले सर्वाधिक ४५ रन बनाए भने कप्तान नारायण जोशीले ३९ रन बनाए । राहुल भण्डारीले २६ तथा किरण ठगुन्नाले २१ रन बनाए । निश्चल क्षेत्री र शेर मल्लले समान १४ रन बनाए । शेर नटआउट रहेका थिए ।

बागमतीका रिजन ढकालले १० ओभरमा ३० रन दिएर ४ विकेट लिए । सोनु देवकोटाले १० ओभरमा ४९ रन दिएर ४ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाए । आशुतोष घिरैयाले ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २ विकेट लिए । राहुल भण्डारी र नारायण जोशीले समान १ विकेट लिए ।

तेस्रो खेलमा पहिलो जित निकालेको बागमतीको २ अंक भएको छ । यसअघि बागमती दुई विभागीय टोलीहरु आर्मी र एपिएफसँग पराजित भएको थियो ।

चौथो खेलमा तेस्रो हार बेहोरेको सुदूरपश्चिमको पनि समान २ अंक छ । सुदूरपश्चिमले यसअघि आर्मी र कर्णालीसँग पराजित हुँदा गण्डकीलाई भने हराएको थियो । 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ । विभागीय टोली पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *