विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल सप्तरीको प्रोगेसिभ युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा हुने प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता रहने छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् । विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपिएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३-१ ले पराजित गरेको थियो ।
मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यस प्रतियोगिताको आयोजनाका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
यस वर्षको प्रतियोगिताले पूर्वी नेपालमा फुटबलको स्तर उकास्न र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ट्रष्टका अध्यक्ष डंगोलले बताए । प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्ने आयोजकले जनाएको छ ।
