युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । उनले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् ।यसैगरी पूजा महतोले अविजित २० र कप्तान इन्दु बर्माले १८ रन बनाए ।
हङकङका लागि मेहकदीप कौर र लिया वाङ कीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।
हङकङका लागि शन्जिन शहजादले ४७ बलमा सर्वाधिक ५४ रनको योगदान गरिन् । यसैगरी चान का यिङले १६ र यास्मिन दासवानीले १४ रन बनाए ।
नेपालका लागि राजमति ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महताे र ईश्वरी विष्टले समान एक विकेट लिए ।
सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । अब नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ । आजै हुने युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।
यस खेलमा नेपाललाई पराजित गरेको भए हङकङले फाइनलमा स्थान पक्का गर्ने थियो । यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।
