नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।

उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित गर्दै उपाधि जितेका हुन् ।

‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितिजले शुरुवाती दुवै खेल जितेर २-० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन् । उनले सेमिफाइनलमा पुनम प्रसाइँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए ।

पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले शुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ । यसमा उपाधि विजेता क्षितिजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६ सय, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४ सय रुपैयाँ प्राप्त गरेका छन् ।

हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कुल १ लाख २५ हजार रुपैयाँ पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जितेका छन् । स्वीस प्रणालीको आधारमा नौ राउन्डसम्म चलेको ब्लिज कपमा अपराजित रहँदै ७.५ अंक जोडेर राजनले पहिलो स्थान हात पारेका हुन् ।

सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७.५ अंक बनाएका थिए । तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन् । सात जित र दुई हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेश्रो स्थानमा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपैयाँ हात पारे ।

१६ स्पर्धा समावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गर्ल्सतर्फ यू ८ मा रुबेश्री चौलागाइँ, यू १२ मा निहाना श्रेष्ठ, यू १४ मा नायुमा मगर र यू १६ मा प्रज्ञा पन्त प्रथम भए । ब्वाइजतर्फ यू ८ मा शुभांग प्रधान, यू १० मा अभियान राई, यू १२ मा दीपन मैनाली, यू १४ मा प्रवीर केसी र यू १६ मा अनमोल राई पहिलो स्थानमा रहे ।

त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागि थिए ।

सात्विक वर्षका सर्वोत्कृष्ट खेलाडीः

हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ । जसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन् ।

प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन् । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, फुटबल लिजेन्ड हरि खड्का, पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौं महानगरपालिका वडा नं.११ का अध्यक्ष हिरालाल तण्डुकर, एकडेमीकी संस्थापक एवम् नेपाल बुद्धिचाल मासंघकी उपमहासचिव मोनालिशा खम्बूले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए ।

एक वर्षमा ७ प्रतियोगिताः

२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेमेडीले यो एक वर्षभित्र सात प्रतियोगिता आयोजना गरेको छ । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्डस, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओपछि हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप र हिमालयन ब्लिज कप सफलतापूर्वक आयोजना गरेको हो।

बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्‌भान्स बिगिनर्स, इन्टरमिडियट र एड्‌भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा नियमित ट्रेनिङ दिइरहेको छ ।

एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ । भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *