युगाण्डामा जारी चार देशीय महिला टि-२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ ।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने पूजा महतोले १९, बिन्दु रावलले १४, र साना प्रविणले १० रन बनाएकी थिइन्।
त्यसअघि एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको थियो ।
हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन योगदान गरेकी थिइन् ।
त्यस्तै, नेपाली बलर इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई विकेट लिए भने पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए ।
यस सिरिजमा नेपालले खेलेका ३ खेलमध्ये १ जित र २ हार बेहोरेको छ भने हङकङले ३ खेलमध्ये २ जित र १ हार बेहोरेको छ ।
नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध, र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि, मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टिमहरू तथा तेस्रो र चौथो स्थानमा रहेका टिमहरूबीच खेल हुने तालिका रहेको छ ।
