नेपाली यु-१९ पुरुष क्रिकेट टोलीले एक खेल अगावै ५० ओभरको अभ्यास सिरिज जितेको छ ।
बिहिबार भएको दोश्रो खेलमा भारतको दिल्ली यु-१९ टोलीलाई १०२ रनले पराजित गर्दै नेपाली टोलीले सिरिज जितेको हो ।
जितसँगै नेपालले ३ खेलको सिरिजमा २-० को अग्रता लिएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटले विजयी भएको थियो ।
नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३०.४ ओभरमा ९० रनमै अलआउट भयो ।
दिल्लीका शन्तुन यादवले अपराजित रहँदै सर्वाधकि ३० रन बनाए । यसैगरी, मोहक कुमार १९ र सथक पालले १६ रनको योगदान दिँदा अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अपराजित पौडेलले ७ ओभरमा ४ मेडनसहित ३८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । यसैगरी, नितिश पटेलले दुई तथा विपिनप्रसाद शर्मा, अशोक धामी र कप्तान नरेन भट्टले समान एक विकेट लिए ।
त्यसअघि बीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ६० रन जोडे । उनले ८२ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे ।सातौं विकेटका लागि कप्तान नरेनसँग अभिषेकले ९९ रनको साझेदारी गरे । नरेन १२५ बलमा ६ चौकाको सहयोगमा ५२ रनमा आउट भए ।
यसैगरी अशोक धामीले १९ र ओपनर सोहेल कुवँरले ११ रनमा बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दिल्लीका लागि शुभम दुबेले ३ तथा आदित्य भण्डारी, अमन चौधरी, रोनक वागिलाले समान २ विकेट लिए ।
सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
