त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको १९औं खेलमा आएर अपराजित यात्रा तोडेको छ ।
बिहीवार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गरेको हो । यो नतिजासँगै पुलिस र आर्मीबिच नै उपाधि भिडन्त हुने भएको छ । फाइनल खेल शनिबार हुनेछ ।
यसअघिको संस्करणमा फाइनलसहित १० खेल तथा यस संस्करणमा यहाँसम्म आइपुग्दा ८ खेल लगातार जितेको पुलिसको यात्रामा ब्रेक लागेको हो ।
पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रन बनाए ।
पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४१.४ ओभरमा १४८ रनमा अल आउट भएको थियो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५०, आरिफ शेखले २२, गुल्शनकुमार झाले १७, सागर ढकालले अविजित १६ र अर्जुन साउदले १३ रन बनाए ।
आर्मीका लागि शाहब आमलले चार, नरेन साउदले तीन तथा कुशल मल्ल र भीम सार्कीले समान एक विकेट लिए ।
