कप्तान अनिल साहले अविजित अर्धशतक बनाएपछि मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा बागमती प्रदेशमाथि जित हासिल गरेको छ ।
बिहीवार भएको लिग चरणको अन्तिम खेलमा मधेशले बागमतीलाई ४ विकेटले पराजित गरेको । हारका बाबजुद नेट रनरेटमा अघि रहेर बागमतीले चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
बागमतीले दिएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
मधेशको जितमा अनिलले अविजित रहँदै सर्वाधिक ७० रन जोडे । उनले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । यसैगरीज रुपेश सिंहले २५ , रोहन विकले ३९, हरिशंकर साह ३३, पवन सरार्फ ३१, शैलेन्द्र साह १६ र दिपेश दास १९ रन बनाए ।
बागमतीका लागि सुर्य तामाङले २ तथा रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५९ रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि ओपनर इशानले सर्वाधिक ११४ रनको शतकीय इनिङ खेलेका थिए । उनले पीएम कपको इतिहासमा पहिलो शतक पूरा गरेका हुन् । पहिलो शतक इशानले १ सय १८ बलमा पूरा गरे ।
यो संस्करणको पिएम कपमा शतक प्रहार गर्ने चौथो ब्याटर हुन् । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले २, आर्मीका तृत राज दास र गण्डकीका अर्जुन कुमालले समान १ शतक प्रहार गरेका थिए ।
मधेशका लागि हरिशंकर साह र पवन सरार्फ, कप्तान अनिल साहले समान २ तथा रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।
जितसँगै ९ खेलमा ८ अंक जोडेको मधेश सातौं स्थानमा रहेर प्रतियोगिता टुंगोएको छ । समान खेल र अंक भए पनि नेट रनरेटमा अघि रहेर बागमतीले शीर्ष ४ मा स्थान बनाउन सक्यो ।
शनिवार हुने फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
