युगाण्डामा जारी चार देशीय महिला टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।
एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको हो ।
नामिबियाले बनाएको यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा बढी हो ।
नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ र सुने विटम्यानले १५ रन बनाए ।
नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले र तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । घरेलु टोली युगान्डालाई भने नेपालले एक विकेटले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएकाले नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ ।
