घानाका मिडफिल्डर टोरिक जेब्रिनले एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

क्लबले एनएसएलको तेस्रो संस्करणका लागि पनि जेब्रिनसँग सम्झौता गरिएको जानकारी दियो । उनले दोस्रो संस्करण चितवनबाटै खेलेका थिए ।

जेब्रिकसँग घाना, इङ्‌ल्यान्ड, बेल्जियम, इजिप्ट, टर्की, साउदी अरेबिया, माल्दिभ्स र नेपाली क्लबबाट खेलेको अनुभव छ । उनले फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

उनी चितवनमा अनुबन्ध हुने छैटौं खेलाडी विदेशी खेलाडी हुन् । यससँगै चितवनको विदेशी खेलाडीको कोटा पूरा भएको छ ।

चितवनले यसअघि अमेरिकन जोनाथन क्याम्पबेल, उज्वेकिस्तानका नोदरिक माभनोलोभ, जमैकन गोलकिपर अमल नाइट, अमेरिकन भिक्टोर मानसारे र नाइजेरियन फरवार्ड मलिक युसुफलाई अनुबन्ध गरिसकेको छ ।

चितवनले अनुभवी विदेशी खेलाडी अनुबन्ध गर्दै सन्तुलित टिम बनाएको छ । यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।

नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की बनाएको चितवनले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।

यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।

चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *