एटलेटिको मड्रिडलाई टाइब्रेकरमा पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै रियल च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो लेगमा २-१ ले विजयी भएको रियल गएराति दोस्रो लेगमा १-० ले पछि परेको थियो जसपछि समग्रमा २-२ को नतिजा भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा जुलियन अल्भारेज र मार्कस लोरेन्टे चुके । रियलले ५ मध्ये ४ प्रहारमा गोल गर्दा एट्लेटिको चारमध्ये २ प्रहारमा चुक्यो । अल्भारेजको गोल डबल टचका कारण मान्यता पाएन भने लोरेन्टेको प्रहार क्रसबारमा लागेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलको पहिलो मिनेटमै कोनोर गालाघरले गोल गर्दै घरेलु टोली एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि थप गोल नहुँदा २-२ को एग्रेगेटले अतिरिक्त समयमा धकेलिएको खेल त्यहाँ पनि गोल नभएपछि टाइब्रेकरमा पुगेको थियो ।
अब रियलले क्वाटरफाइनलमा आर्सनलको सामना गर्नेछ ।
