इलाम । विभागीय टोली नेपाली पुलिस क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बागमती युथ क्लबल टाइब्रेकरमा ३-१ ले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पुलिसकी गोलकिपर उषा नाथ टाइब्रेकरमा नायक बनिन् । उनले बागमतीको दुई वटा प्रहारलाई बचाएकी थिइन् ।

पुलिसले खेल अवधिमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाइब्रेकरसम्म पुग्नु पर्यो । खेलको ५५ औं मिनेटमा बागमतीको खेलाडीको डिबक्सभित्र हयान्डबल भएपछि पाएको पेनाल्टीलाई पूजा रानाले सदुपयोग गर्न सकिनन् आकासिएको थियो ।

टाइब्रेकरमा पुलिसका रेविका पाण्डे, बिर्सना चौधरी र गोलकिपर उषा नाथले गोल गरिन् । कप्तान निरु थापाको प्रहार आकासिएको थियो ।

यस्तै, बागमतीका सलोनी रानामगरको प्रहार मात्र गोलमा परिणत भयो । सेसिहाङमा लिम्बूको प्रहार बाहिरिँदा विष्णुमाया बल र अञ्जली खवासको प्रहार पुलिसकी गोलकिपर उषाले रोकेकी थिइन् ।

दुई प्रहार रोकेकी उषा प्लेयर अफ द म्याच बनिन् । उनलाई इलाम नगरपालिकाकी नगर उपप्रमुख विष्णु दाहालले नगद पाँच हजार रुपैयाँ र र ट्रफी प्रदान गरे ।

सोमबार तेस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ एफसी दार्जीलिङ भारतसँग खेल्नेछ ।

फागुन २४ गते हुने फाइनल खेलको विजेताले नगद चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *