नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर टेटे फिलिप अजा लाई अनुबन्ध गरेको छ ।
बिहिवार बुटवलले उनको आगमनको औपचारिक घोषणा गरेको हो । बुटवलमा अनुबन्ध हुने अन्तिम विदेशी खेलाडी हुन् । बुटवलमा विदेशी खेलाडीको संख्या ६ पुगेको छ ।
२६ वर्षीय अजाले विभिन्न देशका लिगहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । उनले इथियोपियाको सिडामा कफी, बंगलादेशको शेख जमाल धनमोंडी, भारतको गो कुलम केरल एफसी र मोहम्मडन स्पोर्टिङ क्लब मा खेलेका छन् । इथियोपियन प्रिमियर लिगमा उनले आठ खेलमा चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
व्यावसायिक करियरमा अजाले ६४ खेल खेल्दै ३८ गोल गरेका छन् र ६ असिस्ट प्रदान गरेका छन् । क्लब व्यवस्थापनले उनको आगमन टोलीका लागि ठूलो फाइदा हुने विश्वास राखेको छ ।
“टेटे फिलिप अजा एक कुशल स्ट्राइकर हुन् । उनको गोल गर्ने क्षमता र अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेछ,” बुटवल लुम्बिनी एफसीका एक प्रतिनिधिले भने ।
अजाले आफ्नो मेडिकल परीक्षण पूरा गरिसकेका छन् र चाँडै टोलीसँग प्रशिक्षणमा सामेल हुनेछन् । नेपाल सुपर लिगमा उनले टोलीका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगी बुटवलका मार्की खेलाडी हुन् । टोलीको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा छन् ।
बुटवलले आइतवार झापा एफसीसँग खेल्दै एनएसएलको सुरुवात गर्नेछ । शनिवार उद्घाटन खेल दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रजर्सबीच हुनेछ ।
बुटवल लुम्बिनी एफसीका विदेशी खेलाडी
टमरा एजीकेएल (मिडफिल्डर) – नाइजेरिया
एडम मिट्टर (डिफेन्डर) – बेलायत
केन्ता हारा (मिडफिल्डर) – जापान
नथेन माभिला (डिफेन्डर) – बेलायत
फ्रैंक रोस (विंगर) – स्कटल्याण्ड
फिलिप्स अजा (फरवर्ड) – घाना
