इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी घरेलु मैदानमै बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा सिटीलाई ब्राइटनले २-२ को बराबरीमा रोकेको हो ।

खेलमा दुईपटक अग्रता लिएपनि सिटीले जोगाउन सकेन । सिटीका लागि एर्लिङ हालान्ड र ओमार मरमाउशले १-१ गोल गरे । ब्राइटनका लागि पर्भिस इस्तुपिनयनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

११औं मिनेटमा हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, त्यसको १० मिनेटमै इस्तुपिनयनले ब्राइटनका लागि बराबरी गोल फर्काए ।

३९औं मिनेटमा मरमाउशले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । पहिलो हाफ सिटीको २-१ को अग्रतामा सकिएको थियो ।

तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै सिटीका खुशनोभको आत्मघाती गोलले ब्राइटनलाई खेलमा फर्कियो ।

बराबरीपछि सिटी २९ खेलबाट ४८ अंकसहित पाँचौं स्थानमा छ भने ब्राइटन ४७ अंकका साथ सातौं स्थानमा छ । लिभरपुल २९ खेलमा ७० अंकका साथ शीर्ष स्थानमा मजबुत छ ।

लिगअन्तर्गत शनिबार भएका अन्य खेलहरूमा नटिङ्घम फरेस्टले इप्सविच टाउनलाई ४-२ गोलअन्तरले हराउँदा वेस्टह्याम र एभर्टनले १-१ को बराबरी खेले ।

वुल्भ्सले साउथह्याम्पटनलाई र ब्रेन्टफर्डले बर्नमाउथलाई समान २-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *