नेपालले आज एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको इब्राहिम सुल्तान स्टेडियममा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयानुसार बेलुकी ७:४५ बाट शुरु हुनेछ ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम चरणको छनोटमा आज दुवै टोली जितसहित सुखद् शुरुवात गर्ने योजनामा हुनेछन् । किनकी एशियन कपमा पुग्न दुवै टोलीका लागि अन्तिम चरणको छनोट महत्वपूर्ण रहेको छ ।

यसअघि सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रस र कप्तान किरण चेम्जोङले मलेसियाविरुद्धको खेलका लागि नेपाल तयार भएको र उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए ।

मलेसियासँगको खेलअघि नेपालले गत शुक्रबार सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजित गरेको थियो । फुटबल इतिहासमा नेपाली टोलीले सिंगापुरलाई हराएको त्यो नै पहिलो पटक हो ।

सिंगापुरविरुद्ध नेपाली टोलीलाई पहिलो जित दिलाउन जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरेका थिए । सिंगापुरलाई हराएर मलेसिया पुगेको नेपाली टोली आजको खेलमा पनि आफ्नो त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

फिफा वरीयतामा वर्तमान अवस्थामा मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ । मलेसिया फिफा वरीयताको १३२औं र नेपाल १७५औं स्थानमा छ । वरीयताको आधारमा आफूभन्दा बलियो मलेसियालाई नेपालले अहिलेसम्म हराउन सकेको छैन ।

त्यसैले नेपाली टोली आजको खेल जित्दै मलेसियाविरद्ध पहिलो जित दर्ता गर्ने दाउमा समेत रहेने छ । नेपाल र मलेसियाबीच अहिलेसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमध्ये ६ खेल मलेसियाले जित्दा १ खेल बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक मलेसियासँग सन् २०१९ मा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो । तर, एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउनका दशरथ रंगशालालाई मान्यता नदिदा नेपालले मलेसियामा गएर खेल्न लागेको हो ।

एसियन कपको अन्तिम चरणको छनोटमा नेपालसहित २४ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत नेपाल, मलेसिया, भियतनाम र लाओस समूह एफमा रहेका छन् ।

होम एण्ड अवेका आधारमा हुने अन्तिम चरणको छनोटपछि प्रत्येक समूहको शीर्ष टोलीले २०२७मा हुने एसियन कपमा आफ्नो स्थान पक्का गर्नेछन् । यसअघि २०२७ को एशियन कपका लागि १८ राष्ट्र छनौट भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *