ब्राजिलका गोलकिपर एलिसन बेकर टाउकोमा चोट लागेपछि आफ्नै क्लब लिभरपुल फर्किएका छन् । ब्राजिल फुटबल महासंघ (सिबिएफ) ले शुक्रबार यसबारे जानकारी दिएको हो ।

एलिसन २०२६ विश्वकप छनोटअन्तर्गत बिहीबार भएको ब्राजिल र कोलम्बिया बीचको खेलमा घाइते भएका थिए । ब्राजिलको २-१ को जित पछि उनी टोलीबाट बाहिरिएका हुन् ।

खेलको ७८औं मिनेटमा कोलम्बियाका डिफेन्डर डेभिन्सन सान्चेजसँग ठोक्किएर उनले चोट बोकेका थिए ।

फिफाको कन्कसन (मस्तिष्क आघात) प्रोटोकलअनुसार एलिसनले केही समय विश्राम लिनु पर्नेछ । योसँगै उनले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।

‘एलिसनले टाउकोमा चोट बोकेका छन् । तर, अहिले उनी ठिक छन् र कुनै गम्भीर समस्या देखिएको छैन । तर, फिफाको कन्कसन नियमअनुसार रिकभर हुन लिभरपुल फर्किनुपर्छ,’ सिबिएफले भनेको छ ।

एलिसन बाहिरिनुले लिभरपुलका प्रशिक्षक आर्ने स्लटका लागि झनै समस्या बनेको छ । क्लबका ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्ड, जो गोमेज र कोनोर ब्राडली पहिल्यै चोटग्रस्त छन् ।

यसैबीच लिभरपुलका मिडफिल्डर रायन ग्राभेनबर्खले पनि फिटनेस समस्याका कारण नेदरल्यान्ड टोलीबाट नाम फिर्ता लिएका छन् ।

लिभरपुल इ‌ङ्लिस प्रिमियर लिग मा १२ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । लिभरपुलको अर्को खेल एप्रिल २ मा हुनेछ । टोलीले आफ्ना स्थानीय प्रतिद्वन्द्वी एभर्टनलाई घरेलु मैदानमा स्वागत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *