इलाम । विभागीय टोली एपीएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
 
इलाम बजारको ठुलो टुँडिखेलमा बिहीबार सेमिफाइनलमा रश्मिकुमारी घिसिङको गोल नै एपीएफको जितमा निर्णायक बन्यो । उनले खेलको ३५औं मिनेटमा गोल गरेकी थिइन् ।

दायाँ साइडबाट अनिता केसीको क्रस पासलाई बचाउने क्रमा पुलिसकी गोलरक्षक उषा नाथको हातबाट फुत्किएको बललाई रश्मिले गोल गरेकी हुन् ।

जितसँगै फाइनल खेलमा एपिएफले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी एफसीसँग भेट पक्का गरेको छ । एपीएफ र आर्मीबीच शनिबार फाइनल हुनेछ ।
 
खेलको प्लेयर अफ दि म्याच एपिएफकी कप्तान अनिता बस्नेत भइन् । उनलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, आयोजक क्लबका अध्यक्ष ध्रुव राईलगायतले नगद ५ हजार र ट्रफी प्रदान गरे ।

ओएसिस क्लब इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले दुई लाखमा रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *