इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्।

३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ।

अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको कप्तानीमा इङ्ग्ल्याण्डले लगातार तेस्रो ठूलो प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको हो।

यसअघि सन् २०२३ को ५० ओभरको विश्वकप र गत वर्षको टि ट्वान्टी विश्वकपको उपाधि रक्षा गर्न इङ्ग्ल्यान्ड असफल भएको थियो।

‘यो मेरो लागि पनि सही निर्णय हो र टिमका लागि पनि,’ बटलरले लाहोरमा आयोजित पत्रकार सम्मेलनमा भने । अहिले दुःख लागिरहेको समयसँगै यो फेरि क्रिकेटको मज्जा लिन थाल्ने पनि भनेका छन्। साथै आफ्नो देशको कप्तान बन्नु ठूलो सम्मान भएको पनि बताए।

२०१९ को विश्वकप विजेता टोली सदस्य बटलरलाई २०२२ मा इओइन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि कप्तान नियुक्त गरिएको थियो।

उनले सोही वर्ष अस्ट्रेलियामा आयोजित टि ट्वान्टी विश्वकप जिताएका थिए। तर २०२३ को एकदिवसीय विश्वकपपछि इङ्ग्ल्यान्डको प्रदर्शन निरन्तर खस्किँदै गएको छ।

इल्यान्डले भारतमा भएको २०२३ को विश्वकपमा ९ मध्ये मात्र ३ खेल जितेको थियो। त्यसयता खेलेका १६ एकदिवसीय खेलमा १२ मा पराजित भएको छ।

पछिल्लो पटक लगातार ६ खेलमा पराजित भएको छ। गत वर्ष टि ट्वान्टी विश्वकपमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो। तर भारतसँग ठूलो अन्तरको हारेको थियो।

बटलरको हालको प्रदर्शन कमजोर देखिए पनि उनले टोलीका उत्कृष्ट खेलाडीको अनुपस्थितमा कप्तानी सम्हाल्नु परेको थियो।

बटलरले कुल ४४ एकदिवसीय खेलमा कप्तानी गर्दा १८ मा जित, २५ मा हार र १ खेल विना नतिजा सकिएको थियो। तर टि ट्वान्टी कप्तानका रुपमा उनको कीर्तिमान राम्रो छ। उनले ५१ खेलमा कप्तानी गर्दा २६ मा जित, २२ मा हार र ३ खेल विना नतिजामा सकिएको थियो।

अब नयाँ कप्तान छनोट गर्ने विषयमा प्रशिक्षक ब्रान्डन म्याक्कुलमले पुरुष क्रिकेटका निर्देशक रोब कीसँग छलफल गर्ने बताएका छन्।

जनवरीमा उपकप्तान बनाइएका ह्यारी ब्रुकलाई ५ एकदिवसीय खेलमा अष्ट्रेलिया विरुद्ध कप्तानीको अनुभव रहेको छ। जसका कारण उनलाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *