प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनले पराजित गरेको हो । आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २७.१ ओभरमा ११२ रन मात्र बनाएर अलाआउट भयो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ३७, मनिष थापा र बिप्रासन केसीले समान १३ र नर सार्कीले १२ रन जोडे ।

आर्मीका लागि सहाब आलमले ४, नरेन साउदले २ तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान १ विकेट लिए । 

त्यसअघि सिद्धार्थ रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.३ ओभरमा अलआउट हुँदै २४३ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि बसिर अहमदले सर्वाधिक ८६, भीम सार्कीले ४४, त्रितराज दाशले ३१, सोमपाल कामीले २८, कुशल मल्लले १७ र इमरान शेखले १२ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले ४ तथा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रसन, नर सार्की र देवले समान १ विकेट लिए ।

आर्मीको यो आठौं खेलमा सातौं जित हो । उसले १४ अंक बनाएको छ । यो हारसँगै लुम्बिनीको फाइनलको पुग्ने संभावना सकिएको छ । उसले ८ खेलबाट मात्र ८ अंक मात्र बनाएको छ । लुम्बिनीको यो चौथो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *