आठौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा द योङ ब्रदर्श क्लब, सुनसरीले विजयी सुरुआत गरेको छ । 

शनिबार वराहक्षेत्र-५ कालाबन्जारामा रहेको जडेज माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वराह-११, सुनसरीलाई ३-० गोल अन्तरले पराजित गर्दै द योङ ब्रदर्शले सेमिफाइनलको यात्रा तय गरेको हो ।

द योङ ब्रदर्सको जितमा विदेशी खेलाडी फोफोनाले खेलको १७औं र ४२औं मिनेट तथा अविशेक महतोले ५२औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता फोफोना घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

उद्घाटन खेलअघि औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बराहक्षेत्र शहरीकरणका दिशामा अघि बढिरहेको र बराहक्षेत्रको विकासमा भरौल गोल्डकप जस्ता प्रतियोगिताले सहयोग गरिरहेको बताए ।

उनले गोल्डकपको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता गरे । प्रतियोगिताले बराहक्षेत्र र यहाँका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याइरहेको बताए ।

औपचारिक कार्यक्रम बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल महासङ्घ पूर्व केन्द्रीय महासचिव बुद्धि कट्वाललगायतका विशिष्ट अतिथिले प्रतियोगिताको भव्यताको शुभकामना दिए ।

बराहक्षेत्र-५ का वडाध्यक्ष रोहित काफ्ले, बराहक्षेत्र-८ का वडाध्यक्ष रोशन खड्का, बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापालगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक तथा बराहक्षेत्र-७ का वडाध्यक्ष कपिल आचार्यले अतिथिलाई स्वागत गरे । न्युस्टार क्लबका अध्यक्ष भेषराज कार्कीको सभाध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन नवराज विष्टले गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो क्वाटरफाइनल आयोजक न्युस्टार क्लब र पाहुना टोली भारत सिलगुडीको टोली कञ्चनजंगा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ तथा उपविजेता हुने टोलीलाई २ लाख रुपैयाँसहित नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ । 

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही १०-१० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *